१- माग (Demand)

प्रश्न नं. १- माग  भनेको कहो ? मागको नियमको बर्णन गर्नुहोस् । (What is demand ? Describe the law of demand.)

उत्तरः- सामान्य बोलीचालीको भाषामा कुनै बस्तु वा सेवा प्राप्त गर्ने मानवीय इच्छालाई माग भनिन्छ तर  अर्थशास्त्रमा मागको अर्थ ब्यग्लै ढंगबाट लगाइन्छ । अर्थशास्त्रमा माग भन्नाले बस्तु वा सेवा प्राप्त गर्ने त्यो मानविय इच्छा जसका लागि माग कर्तासंग उक्त बस्तु वा सेवाको मूल्य तिर्ने क्षमता र मूल्य तिर्ने तत्परता समेत विद्देमान हुन्छ भने, त्यसलाई माग भनिन्छ । तसर्थ कुनै बस्तु वा सेवाको माग भन्ने वित्तिकै निम्न विशेषता हुनु आबश्यक हुन्छ ।

क) बस्तु वा सेवा प्राप्त गर्ने इच्छा (Desire to have a good or service)
ख) उक्त बस्तु वा सेवाको लागि मूल्य तिर्ने क्षमता वा साधन (Ability to pay the price for the good or service)
ग) र मूल्य तिर्ने तत्परता (Readiness to pay the price for the good or service)

उपर्युक्त विशेषता मध्य कुनै एकको अभाबमा बस्तु वा सेवा प्राप्त गर्ने इच्छा माग हुन सक्दैन । मानौ कुनै विद्यार्थीको महङ्गो लुगा किन्ने इच्छा छ तर उक्त लुगाका लागि मूल्य तिर्ने क्षमता छैन भने बिद्यर्थीको त्यो इच्छा इच्छामा सिमित रहन्छ र माग हुन सक्दैन् । मूल्य तिर्ने क्षमता भएतापनि यदि उसमा मूल्य तिर्ने तत्परता छैन भने, उक्त इच्छा माग हुन सक्दैन ।

यसै सन्दर्भमा मागसंग सम्बन्धित विभिन्न अर्थशास्त्रीहरुले दिएका परिभाषाहरुलाई यहाँ प्रस्तुत गर्न सकिन्छ ।
अर्थशास्त्री पेन्सनका (Pension) अनुसार "माग भनेको प्रभावकारी इच्छा हो जुन कुनै निश्चित समयमा बस्तुको निश्चित मूल्य तिर्ने चाहना र मूल्य तिर्नेे क्षमता बाट अभिप्रेरित भएको हुन्छ।" (Demand is effective desire which is followed by willingness to pay and ability to pay in specific time and price.)
यसै गरी अर्थशास्त्री स्पेन्सरका (M. H. Spencer)  अनुसार "माग भनेको कुनै निश्चित समय र स्थानमा बस्तुको विभिन्न मूल्यमा खरिद गरिने बस्तुको परिमाण हो ।" (Demand is the quantity that will be purchased of a particular commodity at various prices at a given time and place.)

यी माथिका परिभाषाहरुको आधारमा समेत के निष्कर्शमा पुग्न सकिन्छ भने कुनै निश्चित समय र स्थानमा बस्तुका विभिन्न मूल्यमा, एउटा उपभोक्ताको बस्तुको मूल्य तिर्ने क्षमता तथा तत्परता सहितको, बस्तु खरिद गर्ने इच्छा नै माग हो ।

मागको नियम

नवशास्त्रीय अर्थशास्त्री अल्फ्रेड मार्शल द्वारा प्रतिपदित उपभोक्ताको बस्तु वा सेवा खरिद सम्बन्धि व्यवहारको ब्याख्या गर्ने नियम नै मागको नियम हो । सामान्य बयवहारिक जीवनमा बस्तुको मूल्य र त्यसको माग बीच बिपरित सम्बन्ध हुन्छ अर्थात मागलाई प्रभाव पार्ने अन्य तत्तहरु यथावत रहेको अवस्थामा बस्तुको मूल्य बढ्दा माद घट्छ र मूल्य घट्दा माग बढ्छ । यहि माग र मूल्य बीचको विपरित सम्बन्धलाई मागको नियम भनिन्छ ।

यस सन्दर्भमा विभिन्न अर्थशास्त्रीहरुले मागको नियम सम्बन्धि दिएको परिभाषा प्रस्तुत गर्नु सान्दर्भिक हुन जान्छ । अर्थशास्त्री मार्शलका (Marshall) अनुसार "अन्य कुराहरु यथावत रहेमा कुनै बस्तुको मूल्य बढ्दा माग घट्ने र मूल्य घट्दा माग बढ्ने गर्दछ ।" (Other things remaining the same, the amount demanded increases with a fall in price and diminishes with a rise in price.)

यसै गरी अर्थशास्त्री स्यामुल्सन (Samuelson) का अनुसार "अन्यकुरा यथावत रहेमा मानिसहरु कम मूल्यमा बढी बस्तु र बढी मूल्यमा कम बस्तु खरिद गर्दछन् ।" (Law of demand states that people will buy more at lower prices and buy less at higher prices, other things remaining same.) 

यी माथिका परिभाषाहरूको अध्ययनबाट समेत हामी के निष्कर्शमा पुग्न सक्छौ भने मागको नियमले मागलाई प्रभाव पर्ने अन्यतत्त्व यथावत रहेको अवस्थामा बस्तु वा सेवाको माग र मूल्य बिचको विपरित सम्बन्धको ब्याख्या गर्दछ अर्थात कुनै बस्तु वा सेवाको मूल्य बढेमा ती बस्तु वा सेवाको माग परिमाण घट्दछ भने  यसको ठीक विपरित मूल्य घटेमा माग परिमाणमा वृध्दिहुन्छ । यही माग र मूल्य बीचको बिपरित सम्बन्धको व्याख्या गर्ने अर्थशास्त्रको नियमलाई नै मागको नियम भनिन्छ ।

मागको नियम लागु हुन अन्यकुराहरू (Other things) परिवर्तन हुनु हुदैन जुन निम्न अनुसार रहेका छन् ।
क) उपभोक्ताको बानी, रुची, स्वद तथा फेशनमा परिवर्तन हुनु हुदैन ।
ख) आम्दानीमा परिवर्तन हुनु हुदैन ।
ग) सम्बन्धित बस्तुको मूल्यमा परिवर्तन हुनु हुदैन ।
घ) उपभोक्ताको विवेकमा परिवर्तन हुनु हुदैन ।
ङ) मौषम लगाएत प्राकृतिक अवस्थामा परिवर्तन हुनु हुदैन ।
छ) बन्द हड्ताल जस्ता राजनीतिक प्रतिकुलता हुनु हुदैन ।
ज) निकट भविष्यमा बस्तुको मूल्य परिवर्तनका सम्बाभना हुनु हुदैन ।

मागको नियमलाई निम्न तालिका र रेखा चित्रको माधयमबाट अझ स्पष्ट पार्न सकिन्छ ।
माग अनुसूची (तालिका)

 स्याउको मू्ल्य (रु. प्रति के.जी)

 स्याउको माग (के.जी.)

 १००

१५०

२००

२५०

३००

 २५

२०

१५

१०


माथिको तालिकामा स्याउको मूल्य रु. १००/- प्रति के.जी. हुँदा माग २५ के.जी. छ । पछि मूल्य बढेर रु. १५०/- हुँदा माग घटेर २० के.जी.  हुन गएको छ । यसै क्रममा मूल्य बढ्दै जाँदा माग घट्दै गएको छ । यसलाई रेखा चित्रमा समेत निम्न अनुसार देखाुन सकिन्छ ।


माथिको रेखा चित्रमा Y-अक्षमा मूल्य र X-अक्षमा स्याउको माग परिमाण देखाइएको छ । यहाँ DD रेखाले स्याउको माग देखाएको छ जुन बाँया बाट दाँयातर्फ नकारात्मक ढल्काइको छ । यस नकारात्म ढल्काइको माग बक्रले मूल्य बढ्दा माग परिमाण घट्छ र मूल्य घट्दा माग परिमाण बढ्छ भन्ने कुरालाई जनाउँछ । यसरी मागको नियमले बस्तुको मूल्य र माग परिमाण बीच बिपरित सम्बन्ध हुने कुरालाई प्रस्ट्याउछ ।

यस प्रकार सामान्य स्थितिमा मूल्य नै बस्तुको बिक्रीको निर्धारक हो र यसैको मूल्यांकनको आधारमा उत्पादित बस्तुको मू्य निर्धारण गरिनु उपलब्धी मूलक हुनजान्छ ।

प्रश्न नं. २- मागको नियमको ब्याख्या गर्नुहोस् । यसका अपवादहरु के के हुन? ब्याख्या गर्नुहोस्। (Explain the law of demand. What are its exceptions? Explain.)

उत्तरः-  माथिको प्रश्नको पहिलो भागको उत्तरको लागि प्रश्न नं. १ को उत्तर हेर्नुहोस् ।

मागको नियमको अपवाद भन्ने बित्तिकै ती तत्त्वहरु जसका कारणले मागको नियम लागु हुदैन तिनैलाई सम्झनु पर्दछ । सामान्यतया मागको नियम अनुसार, बस्तुको मूल्य बढ्दा मागमा कमी आँउछ र मूल्य घट्दा मागमा वृध्दि हुन्छ । तर कतिपय अवस्थामा बस्तुको मूल्य बढ्दा मागमा कमी हुनुको सट्टा वृध्दि भैदिन्छ भने मूल्य घट्दा माग पनि घटिरहेको हुनसक्छ । मागमा यस्तै अवस्था सृजना गरिदेने तत्त्वहरुलाई नै मागको नियमका अपवादहरु भनिन्छ । मागको नियमका अपवादहरु यस प्रकार रहेका छन् ।

क) बस्तुको मूल्य परिवर्तन हुने आसङ्का (Expectation to change in the price of goods)
यदि उपभोक्ताहरुमा बस्तुको मूल्यमा परिवर्तन हुने आसङ्का हुन्छ भने मागको नियम लागु नहुन सक्छ । मानौ उपभोक्ताहरुको मनमा बस्तुको मूल्य वृध्दि हुनेछ भन्ने आसङ्का उब्ज्यो भने उनीहरुले भविष्यमा बस्तु झन महङ्गो हुने डरले बस्तुको मूल्यमा कमी नभएतापनि बढी बस्तुको माग गर्दछन् र मागमा बृध्दि हुनजान्छ । यसको बिपरित बस्तुको मूल्य घट्ने आसङ्का भएमा भविष्यमा बस्तु सस्तोमा पाउने आशामा वर्तमानमा बस्तुको मूल्य नबढेतापनि मागमा कटौती गर्दछन् । परिणाम स्वरुप मागमा कमी हुनजान्छ ।

ख) आयमा परिवर्तन (Change in income)
उपभोक्ताको आम्दानीमा आकस्मीकरुपमा परिवर्तन भएमा पनि मागको नियमले काम गर्देन । सामान्य आय भएका उपभोक्ताहरुको आम्दानीमा आकस्मीक रुपमा वृध्दि भएमा उनीहरुले बस्तुको मूल्य नघटेतापनि अधिक बस्तुको माग गर्छन । यसको ठिक विपरित उनीहरुको आम्दानी एक्कासी घटेमा मूल्यमा वृध्दि नभएतापनि मागमा कटौती गर्दछन् । 

ग) आधारभूत आवश्यकताका बस्तु (Goods of basic needs)
आधारभूत आवश्यकताका बस्तुको सन्दर्भमा समेत मागको नियम लागु हुदैन । यी बस्तुहरु मानिसको जीवन निर्वाह संग गाँसिएका बस्तु हुने हुँदा यी बस्तुहरुको मूल्य बढेतापनि खरिद नगरी नहुने हुनाले मागमा कमी हुदैन । उदाहरणका लागि, नूनको मूल्य बढेतापनि तरकारी, दाल आदिमा नूनको प्रयोग गर्न गृहणीहरुले छोड्दैनन् अर्थात नूनको माग घट्दैन ।

घ) सम्बन्धित बस्तुको मूल्यमा परिवर्तन (Change in the price of related goods)
सम्बन्धित बस्तुको मूल्यमा परिवर्तन भएमा मागको नियम लागु नहुन सक्छ । उदाहरणका लागि मसीको मूल्य घटेको भएतापनि यसको सम्बन्धित बस्तु कलमको मूल्यमा वृध्दि भयो भने मसीको माग घट्ने गर्छ । मूल्य बढेको कारण कलमको माग घट्दा मसीको आवशयकता नै नपर्ने भएपछि मूल्यमा कमी भएतापनि मसीको माग वढ्दैन ।
 
ङ) मौषम परिवर्तन (Change in weather)
मौषममा हुने असामयिक परिवर्तनले पनि मागको नियमलाई प्रभाव पार्द छ । एक्कासी बेमौषमी वर्षा हुदाँ छाताको मूल्य नघटेतापनि माग भने बढ्न जान्छ । त्यसै गरी अनायास जाडो बढेमा न्यानो गुगाको माग बढ्न जान्छ ।

छ) बन्द हड्ताल र राजनीतिक प्रतिकुलता  (Strike and political adversity)
बन्द हड्ताल एवं राजनीतिक प्रतिकुलता जस्ता परिस्थिहरुले पनि मागको नियमलाई प्रभाव पार्ने गर्छन । बन्द हड्तालको समयमा सामान्यतया मूल्य यथावत रहेतापनि असामान्य परिस्थतिका कारण बस्तु तथा सेवाको मागमा कमी हुन्छ । राजनीतिक प्रतिकुलताले अस्थिरता निम्त्याउने भएकाले बस्तु तथा सेवाको माग मूल्यमा हुने परिवर्तन भन्दा पनि राजनीतिक प्रतिकूलताबाट बढी प्रभावित हुने हुने गर्दछ । तसर्थ बन्द हड्ताल र राजनीतिक प्रतिकुलता पनि मागको नियमको अपवाद हुन ।

ज) न्युनकोटीका बस्तु (Inferior goods)
न्युनकोटीका बस्तुको सन्दर्भमा समेत मागको नियम लागु हुदैन । सामान्यतया, कम आम्दानी हुने उपभोक्ता समूले जीवन यापन गर्न न्युनकोटीका बस्तुको उपभोग गर्ने गर्दछन् । तर उनीहरुको आम्दानीमा बृध्दि भयो भने उनीहरुले ती बस्तुको सट्टा उच्च गुणस्तरीय बस्तु माग गर्न थाल्दछन् । परिणाम स्वरुप न्युनकोटीका बस्तुको मागमा मूल्यमा परिवर्तन विना नै कमी हुन जान्छ । यसको ठीक विपरित आम्दनीमा घटेमा यस्ता बस्तुको मूल्यमा कमी नभएतापनि जीवन यापन गर्न बस्तुको आबश्यकता पर्ने हुदाँ मागमा बृध्दि हुनजान्छ । तसर्थ न्युनकोटीका बस्तुको सन्दर्भमा मागको नियम लागु हुदैन ।

झ) उपभोक्ताको अज्ञानता (Ignorance of the consumer)
बजारमा बस्तुको मूल्यमा हुने परिवर्तका बारेमा उपभोक्ता अनभिज्ञ भएमा उपभोक्ताले कहिले काँही बस्तुको मूल्य बढेको अवस्थामा पनि अधिक बस्तुको माग गर्न सक्दछ । यदि यस्तो भयो भने मागको नियमले काम गरिरहेको हुदैन अर्थात मागको नियम लागु हुदैन । तसर्थ उपभोक्ताको अज्ञानताका कारण पनि मागको नियम लागु हुदैन । त्यसैले यसलाई पनि मागको नियमको अपवादको रुपमा लिइन्छ ।

मानवीय व्यवहारिक जीवनमा यस्ता अन्य कयौ उदाहरण हुन सक्छन जसका कारणले मागको नियम लागु नहुन सक्छ । यस्ता परिस्थितिजन्य सबै तत्त्वहरु जसका कारणले मागको नियम लागु हुदैन ती सवैलाई हमी मागको नियमका अपवाद भन्ने गर्दछौ ।

प्रश्न नं. ३- माग अनुसूची भनेको के हो ? ब्यक्तिगत माग बक्रको ब्युत्पत्ति कसरी हुन्छ? उल्लेख गर्नुहोस् । (What is demand schedule? How is individual demand curve derived? Describe.)

उत्तरः- कुनै निश्चित बजारमा एक निश्चित समयावधिमा विभिन्न उपभोक्ताले विभिन्न मूल्यमा खरिद गरेको बस्तु वा सेवाको परिमाणको क्रमबध्द तालिकालाई माग अनुसूची भनिन्छ । माग अनुसूची पनि ब्यक्तिगत माग अनुसूची र बजार माग अनुसूची गरि दुई प्रकारका हुन्छन् । यिनै माग अनुसूचीको रेखाचित्रीय प्रस्तुतीकरणबाट नै ब्यक्तिगत तथा बजार माग बक्रहरुको ब्युत्पत्ति हुनजान्छ ।

ब्यक्तिगत माग बक्रको ब्युत्पत्ति
कुनै एक उपभोक्ताले कुनै बजारमा एक निश्चित समयाबधिमा बस्तुका बिभिन्न मूल्यमा खरिद गरेको बस्तुको परिमाणको तालिकीकरणलाई ब्यक्तिगत माग अनुसूची भनिन्छ । यही ब्यक्तिगत माग अनुसूचीमा दिइएका  बस्तुको मूल्य र माग परिमाणको रेखाचित्रीय प्रस्तुतीकरण गरी मूल्य र माग परिमाण बीचका संयोग विन्दुहरुलाई एकआपसमा जोड्दा ब्यक्तिगत माग बक्रको ब्युत्पत्ति हुनजान्छ ।
 
ब्यक्तिगत मागबक्रको ब्युत्पत्ति तलको तलिका र रेखाचित्रको माध्यमबाट स्पष्ट पार्न खोजिएको छ ।
ब्यक्तिगत माग अनुसूची

 चिनीको मूल्य रू.

चिनीको माग परिमाण (के.जी.)

 ६०

७०

८०

९०


माथिको ब्यक्तिगत माग अनुसूचीमा पहिलो महलमा चिनीको मूल्य र दोस्रो महलमा माग परिमाण दिइएको छ । चिनीको मूल्य क्रमिकरुपमा बढ्दै जाँदा मागपरिमाण पनि क्रमिकरुपमा घटिरहेको देखिन्छ अर्थात मूल्य र माग परिमाण बीच विपरित सम्बन्ध स्थापित देखिन्छ । यहि मूल्य र माग परिमाणको रेखाचित्रीय प्रस्तुतीकरणबाट तलको रेखाचित्रमा देखाए अनुसार ब्यक्तिगत माग बक्रको ब्युत्पत्ति हुनजान्छ ।

माथिको रेखाचित्रमा Y-अक्षमा चिनीको मूल्य र X-अक्षमा उक्त मूल्यमा एक उपभोक्ताले गरेको चिनीको माग परिमाण देखाइएको छ । रेखाचित्रमा देखाए अनुरुप DD बक्र ब्यक्तिगत माग बक्र हो । एक उपभोक्ताले एक निश्चित समयावधिमा चिनीको  बिभिन्न मूल्यमा गरेको माग परिमाण र मूल्य बीचका संयोग बिन्दुहरु A, B, C र D लाई एउटा सरल रेखाले एक-आपसमा जोड्दा यस माग बक्रको ब्युत्पत्ति हुन गएको छ । यसरी बस्तुका बिभिन्न मूल्य र ती मूल्यमा माग गरिएका बस्तुका परिमाणहरु बीचका संयोग बिन्दुहरू एक-आपसमा जोड्दा ब्यक्तिगत माग बक्रको ब्यत्पत्ति हुनजान्छ ।