(क) तलका प्रश्नहरुको अति छोटो उत्तर दिनुहोस्।
१- ज्याला भनेको के हो?
उत्तरः- ज्याला भनेको उत्पादन कार्यमा श्रमिकले श्रम गरेबाफत दिइने पारिश्रमिक हो। अर्को शब्दमा उत्पादकले उत्पादन कार्यमा श्रमिकको श्रम प्रयोग गरेबाफत उसलाइ दिने भुक्तान ज्याला हो।
२- नगदी/मौद्रिक ज्यालाको परिभाषा दिनुहोस्।
उत्तरः- बस्तु वा सेवाको उत्पादनमा श्रमिकले श्रम गरेबाफत मुद्राका रुपमा प्राप्त गर्ने ज्यालालाई मौद्रिक वा नगदी ज्याला भनिन्छ।
३- वास्तविक ज्यालाका कुनै दुई निर्धारक तत्त्वहरु बताउनुहोस्।
उत्तरः- वास्तविक ज्यालाका दुई निर्धारक तत्त्वहरु यस प्रकार छन्।
(क) आवासको सुविधा
(ख) पदोन्नतिको सम्भावना
४- जीवन निर्वाहस्तरको ज्याला भनेको के हो?
उत्तरः- श्रमिकका आधारभूत आवश्यकता पूरा गर्नका लागि मात्र पुग्ने ज्यालालाई जीवन निर्वाहस्तरको ज्याला भनिन्छ।
५- ज्यालाको जीवन निर्वाह सिद्धान्तका कुनै दुई ओटा आलोचना उल्लेख गर्नुहोस्।
उत्तरः- ज्यालाको जीवन निर्वाह सिद्धान्तका दुई ओटा आलोचना यसप्रकार छन्।
(क) श्रमिकलाई जीवन निर्वाहस्तर भन्दा बढि ज्याला दिदैंमा जनसङ्ख्या बढदैन।
(ख) ज्यालाको जीवन निर्वाह सिद्धान्त एकपक्षीय छ। यसले श्रमिकको पूर्ति पक्षको मात्र व्याख्य गर्छ।
६- कुल ब्याजको परिभाषा दिनुहोस्।
उत्तरः- एक निश्चित समयावधिका लागि पुँजीको प्रयोग गरेबाफत पुँजी लिने व्यक्तिले पुँजी दिने व्यक्तिलाई भुक्तान गर्ने कुल रकमलाई कुल ब्याज भनिन्छ।
७- खुद/शुद्ध ब्याज भनेको के हो?
उत्तरः- खुद/शुद्ध ब्याज भनेको पुँजी वा मुद्राको सेवा प्रयोग वा उपयोगका लागि मात्र तिरिने मूल्य हो। अर्को शब्दमा कुल ब्याजबाट जोखिमको प्रतिफल, व्यवस्थापनको प्रतिफल र असुविधाको प्रतिफल घटाउँदा बाँकी रहने ब्याजको अंश खुद/शुद्ध ब्याज हो।
८- ब्याजको शास्त्रीय सिद्धान्त अनुसार सन्तुलित ब्याजदर कसरी निर्धारण हुन्छ?
उत्तरः- ब्याजको शास्त्रीय सिद्धान्त अनुसार लगानी माग र बचत पूर्तिको अन्तरक्रियाद्वारा सन्तुलित ब्याजदर निर्धारण हुन्छ।
९- ब्याजको शास्त्रीय सिद्धान्तका कुनै दुई ओटा आलोचना उल्लेख गर्नुहोस्।
उत्तरः- ब्याजको शास्त्रीय सिद्धान्तका दुई ओटा आलोचनाहरु यस प्रकार छन्।
(क) ब्याज लगानीका लागि गरिने बचतको मूल्य नभएर तरलता त्याग गरेबाफतको पुरष्कार हो।
(ख) पूर्ण रोजगारको अवास्तविक मान्यतामा आधारित सिद्धान्त।
१०- कुल नाफाको परिभाषा दिनुहोस्।
उत्तरः- कुल आय र कुल व्यक्त लागतबिचको अन्तरलाई कुल नाफा भनिन्छ।
११- खुद/शुद्ध नाफा भनेको के हो?
उत्तरः- कुल नाफाबाट कुल लागत घटाउँदा बाँकी रहने नाफाको अंशलाई खुद/शुद्ध नाफा भनिन्छ।अर्को शब्दमा व्यक्त र अव्यक्त लागतको योगफललाई कुल आयबाट घटाउँदा बाँकी रहने नाफालाई खुद/शुद्ध नाफा भनिन्छ।
१२- प्रोफेशर नाइटका अनुसार नाफा भनेको के हो?
उत्तरः- प्रोफेशर नाइटका अनुसार नाफा भनेको अनिश्चितता बहन गरेबाफतको पुरष्कार हो।
१३- आर्थिक लगान भनेको के हो?
उत्तरः- आर्थिक लगान भनेको मोहीले भूमिपतिलाई भूमिको उपयोगका लागि मात्र दिने भुक्तानी हो।
१४- ठेक्का लगान भनेको के हो?
उत्तरः- ठेक्का लगान भनेको निश्चित अबधिसम्म उत्पादनका साधन वा साधनको सेवा प्रयोग गरेबाफत प्रयोग कर्ताले साधनका मालिकलाई गर्ने भुकानीलाई ठेक्का लगान भनिन्छ।
१५- सीमान्त/लगानहीन भूमिको परिभाषा दिनुहोस्।
उत्तरः- जुन भूमिको टुक्रामा उत्पादनका लागि जति खर्च गरिन्छ उत्पादन पनि ठीक त्यति मात्र हुन्छ अथवा बचत नहुने कारणले लगान तिर्नु पर्दैन त्यो भुमि नै सिमान्त वा लगानहीन भूमि हो।
0 Comments
Post a Comment
Hi, your positive comments may induce me to write more precisely.